• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण





वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो ।

एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

वरिष्ठ संगीतकार दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । ‘अहिलेको समयमा लोभलाग्दो काम भएको छ’, उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ । मैले पनि यो काम गर्ने सोँच बनाएको छु ।’

वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा गरेका थिए ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै…’लाई कार्यक्रममा देखाइएको थियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

‘एक्लो उदास जवानी…’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै…’मा निशा देशारको स्वर रहेको छ । श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै…’, ‘बाँच्दै नबाँचे पनि…’, ‘मिसिएर दुइटा खोला…’ र ‘सामुन्नेमा उसलाई देख्दा…’ राखिएको छ ।

एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै..’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

‘उदास जवानी’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो ।

सन्तोष अहिलेका चल्तीका संगीतकार हुन् । उनले संगीत दिएको पहिलो गीत दामु मर्सिफुलले लेखेको ‘आउँछु भनि निष्ठुरीले भर किन पार्नु’ हो । यो गीत सुरुमा रामकृष्ण ढकालले गाएका थिए । त्यतिबेला राम्रो चलेको यही गीतलाई १० वर्षपछि अन्जु पन्त र शिशिर योगीले पनि गाएका छन् ।

सन्तोष श्रेष्ठलाई संगीतकार भनेर चिनाएको गीत भने ‘तिमीले पराई ठानेपछि…’ हो । लोकराज अधिकारीले लेखेको र अन्जु पन्तले गाएको यो गीतले सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड भएको गीतको रेकर्ड राखेको छ ।

सन्तोष श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।

संगीतकार श्रेष्ठ भन्छन्, ‘मेरो सबैभन्दा ठूलो उपलब्धी त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महत्वपूर्ण उपलब्धी ठान्छु ।’

Facebook Comments