मुख्यमन्त्रीको नजरमा दाङको विकासः विमानस्थल र माडी डाइभर्सन ‘मेघा प्रोजेक्ट’

प्रकाशित मिति :  २० आश्विन २०७६, सोमबार

नरेन्द्र केसी

मुख्यमन्त्री शंकर पोेख्रेलले भौतिक पूर्वाधारका हिसाबले दाङ योजनाबद्ध विकासको गतिमा अघि बढेको बताउनुभएको छ ।

दशैंको अवसरमा गृहजिल्ला दाङमा रहनुभएका पोख्रेलले घोराही अगुवा पत्रकारहरुसँग छलफल गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले सडक, खानेपानी प्राथमिकतामा भए पनि नारायणपुरको वैकिल्पक विमानस्थल र माडी–दाङ डाइभर्सन जिल्लाका मेघा प्रोजक्ट भएको बताउनुभयो । प्रस्तुत छ मुख्यमन्त्री पोख्रेलको नजरमा देखिएका दाङको विकास योजनाको प्रगति र संभावना, उहाँकै शब्दमाः

नारायणपुर वैकल्पिक विमानस्थलः अन्तिम प्रयास सफल नभए मुद्दा नै छाडिदिन्छु

दाङमा विमानस्थलको बिषयमा बेलाबेलामा बहस हुने गरेको छ । सबैभन्दा पहिले त तुलसीपुरको विमानस्थलको भविष्य के हुन्छ भन्ने चिन्ता देखिन्छ । म यसको थोरै पृष्ठभूमि बताउन चाहन्छु ।

कांग्रेस नेतृत्वको सरकार भएको बेला विस्तृत सर्भे गरिएको थियो । त्यतिबेला पूर्वपश्चिम नपुग्ने र उत्तरदक्षिण उपयुक्त नहुने निष्कर्ष निकालिएको रहेछ । विमानस्थल विस्तार गर्नै नमिल्ने रिपोर्ट आएपछि दाङमा एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने अवधारणा आएको हो । तर, यसले अनावश्यक तरङ सिर्जना गर्यो । तुलसीपुरको विमानस्थल नारायणपुर लैजाने भए भन्ने उतातिर चर्चा चल्यो भने नारायणपुरको संभावितस्थलमा ऐलानी चर्चेको जग्गा जान्छ कि भन्ने भ्रम सिर्जना भएर बिरोधमा जुलुस नै निकालियो ।

प्रारम्भिक सर्भे नै राम्रोसँग गर्न दिइएन । बल्लतल्ल ड्रोनबाट सर्भे भएछ । यसले माथि २२ सय मिटिर र तल ५ किलोमिटरसम्म लम्बाइ रहेको रिपोर्ट आयो । सामान्यतः अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर लम्बाइ चाहिने रहेछ । यसमा सामान्यरुपमा हर्दा पनि जग्गा अधिग्रहणमा ९ अर्ब र विमानस्थल बनाउन ९ अर्ब तथा अन्य सडकलगायतका काम गर्न २ अर्ब गरी २० अर्ब बजेट लाग्ने छ ।

माथि बिरोध आएपछि अब तल गर्ने नि भन्ने कुरा भएको छ तर यसमा म जति लागेको छु, मैले दाङवासीको साथ पाएन । यसमा मेरो कुनै राजनीतिक आग्रह छैन तर पनि विमानस्थलका लागि दाङवासी एकमतका साथ तयार नहुने हो भने म अब अन्तिमपटक प्रयास गर्छु, त्यसपछि म यो एजेण्डामा कहिल्यै अघि सर्ने छैन ।

माडी–दाङ डाइभर्सनः संभावना धेरै

दाङ सबै हिसाबले राम्रो हुँदाहुँदै पनि समस्या भनेको पानी नै हो । राष्ट्रिय मापदण्ड र प्रदेशकै हिसाबले पनि पानीको संकट भएको जिल्ला मानिन्छ दाङ । यहाँ बबइको पानी घोराही ल्याउनेलगायतका केही संभावनामा पनि चर्चा नभएको होइन तर मलाई यो संभव लाग्दैन । घोराहीको वस्ती बढ्दै बबइतिर नै जाने हो, यो बेलामा तलको पानी तलै सकिन्छ ।

दाङको पानी समस्या समाधान गर्न शारदाको पानी ल्याउने पन िचर्चा नचलेको होइन । तर, प्राबिधिक हिसाबले क्षतिपूर्ति बढी दिनुपर्ने र विद्युत थोरै निस्कने भएकाले यो आयोजना पनि उपलब्धिमूलक कम हुने देखिन्छ । त्यसैले माडी–दाङ डाइभर्सनको संभावना नै बढी छ । २२ किलोमिटर सुरुङबाट पानी दाङ ल्याउने संभावना छ । चालु आवको बजेटमा पनि संभाव्यता गर्न केही रकम छ ।

यसमा प्रगति हुन सक्यो भने आगामी बर्ष डिपिआरका लागि बजेट छुट्याउन सकिने संभावना छ । रोल्पामा जलाशय र दाङमा पानी झार्ने गरी उर्जामन्त्रालयले योजना बनाइरहेको छ । रोल्पाकै नेता बर्षमान पुन उर्जामन्त्री भएको बेला यो आयोजना अघि बढाउन सजिलो पनि छ ।

पुलले अड्काए विद्युतीय बस
मैले घोराही–तुलसीपुर विद्युतीय बसलाई प्राथमिकतामा राखेको थिएँ तर हुन सकेन । यसको एउटा मात्रै कारण हो– समयमै पुल नबन्नु । पुल भएपछि सडक सिधा हुन्छ र विद्युतीय बस चलाउन सकिन्छ । तर, पुल निर्माणमा निकै समस्या देखियो ।

ठेक्का अरुले लिने तर दाङकै साथीहरुले जिम्मा लिने र काम नगर्ने समस्या देखिएको छ । त्यसमा अझ कटुवाखोला र पत्रेखोलामा काम गर्न नसक्ने असक्षम व्यक्तिहरुले जिम्मा लिएका कारण निकै समस्या भइरहेको छ । पुल निर्माणमा देखिएको ढिलाइका कारण दाङको विकासले एक धक्का खाएको मैले महसुस गरिरहेको छु ।

कुहिरेपानी–तुलसीपुर चार लेन बन्छ

घोराही–तुलसीपुर सडक चार लेन बढाउने सहमति यसअघि नै भएको थियो तर बीचमा केही समस्या आयो । यसमा लगानी गर्ने एक्जिम बैंकले बजारमा चार लेन गर्ने र बाँकी खण्डमा १० मिटर मात्रै कालोपत्रे गर्ने बताएपछि समस्या सिर्जना भएको थियो ।

यसका लागि ठेक्कासमेत भइसकेको अवस्थामा मैले बरु काम नगर, कुनै समयमा गरौंला, अहिले गर्ने भए सबैतिर चार लेन गर भनेपछि बल्लबल्ल एक्जिम बैंक सहमतिमा आएको छ र अब कुहिरेपानी–तुलसीपुर चार लेन नै हुने भएको छ ।

यसमा दुइ अर्ब बजेट रहेकाले यसमा कुनै समस्या आउँदैन, ढुक्क हुने अवस्था छ । घोराही–तुलसीपुर चार लेन भयो र पुलहरु पनि बने भने यो अब पन्ध मिनेटको दूरी हो, त्यसपछि घोराही भर्सेज तुलसीपुर भन्ने क्षेत्रीय मानसिकता पनि हराउने छ ।

हुलाकी सडक र मदन भण्डारी लोकमार्ग निश्चित

यसबीच दाङले प्राप्त गरेका दुइ उपलब्धि हुन् हुकाली सडकको सुनिश्चितता र मदन भण्डारी लोकमार्गको सुनिश्चिचता । अब राप्तीपारिको भाग समेटिएर दक्षिण देउखुरीहुँदै कपिलवस्तु–बाँकेलाई जोड्ने हुलाकी सडक कालोपत्रे हुने निश्चित भएको छ ।

एक्जिम बैंककै लगानीमा दाङको अमिलियादेखि सल्यानसम्मको राप्ती राजमार्ग पनि बन्ने भएको छ र टेण्डर भइसकेको छ । घोराही–प्युठान सडक अब मदन भण्डारी लोकमार्गमार्फत बन्दैछ ।

घोराही–मुर्कुटी अर्को बर्षसम्म कालोपत्रे हुनेछ भने मुर्कुटी–देविस्थान प्रदेश सरकारकै लगानीमा बन्दैछ । कोइलाबास सडकको पनि मुआब्जाको समस्या सकिएकाले अब चाँडै पूर्णता पाउने छ । दाङमा हामीले प्रदेश सरकारको तर्फबाट पुरानो दामोदर मार्गलाई विस्तार गर्नेतिर ध्यान दिएका छौं । यति काम गर्दा बाँकी सडक पालिका आफैले पनि गर्न सक्छन् भन्ने लागेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानः उपकूलपतिको कार्यशैली नै समस्या

अहिले दाङवासीका लागि चिन्ताको बिषय बनेको छ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । यो प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्दैन तर हाम्रो पनि चासो र सरोकार चाही छ । म यसबारे प्रष्ट कुरा गर्न चाहन्छु– केही साथीहरुले शुरुदेखि नै उपकूलपति डा. संगीता भण्डारीबाट काम हुँदैन भन्दै आएका थिए । तर, मैले अब यिनीबाटै काम गराऔं भनेर सहयोग गर्ने नै नीति बनाएको थिएँ । त्यसका लागि धेरै प्रयास पनि गरें ।

उनको मुख्य समस्या नै के देखियो भने बाहिर जथाभावी प्रचार गर्ने तर भित्र काम केही नगर्ने । आमा सुरक्षा कार्यक्रमको बजेट सरकारले प्रदेशलाई पठाइदिएको थियो तर प्रदेशले प्रतिष्ठानलाई पैसा दिन मिल्दैन्थ्यो । यो बेलामा संघीय सरकारसँग पहल गरेर बजेट लिन लाग्नुपर्नेमा उपकूलपतिबाट यसको बिरोध गर्ने मात्रै काम भयो । त्यस्तै संघीय सरकारले १३ करोड १९ लाख बजेट पठाइदिएको रहेछ, अर्थमन्त्रालयले रोकियो भनेर उपकूलपतिले भनेपछि मैले अर्थमन्त्रीसँग पटकपटक छलफल गरेर त्यो बजेट आयो र कोलेनिकासम्म आएछ ।

तर, स्वास्थ्य मन्त्रालयले हिसाबकिताब पारदर्शी नभएको देखेर बजेट कोलेनिकाबाट फिर्ता गरेर पुनः अर्थमै पठाएछ । फेरि अर्थमन्त्रीसँग कुरा भयो तर स्वास्थ्यले यो रकम दुरुपयोग हुने देखेर पठाउन मानेन । पहिले डिनमा अपमानपूर्ण व्यवहार भएछ, उहाँ मकहाँ जानुभएको थियो, जे भए पनि सहेर बस्नुस् भनेको थिएँ, बस्नै नसक्ने भएपछि राजीनामा दिनुभए छ । त्यसपछि आएका अरु पदाधिकारीमाथि पनि त्यस्तै ब्यवहार देखियो । अब उपकूलपतिले आफै डाक्टर नियुक्त गर्नुभयो राम्रै होला भनेको तर आफैले भर्ना गरेका तिनै डाक्टरलाई अपमानपूर्णरुपमा हटाइएछ । सामान्य निहुँमा कर्मचारी हटाएपछि कर्मचारीले लामो समयसम्म आन्दोलन गरे ।

यी सबै घटनाक्रम देख्दा म पनि अब यी उपकूलपतिबाट काम चल्दैन भन्ने निष्कर्षमा पुगेको छु । म उहाँप्रति निकै लचक थिएँ तर मबाटै सहयोग लिन नसक्नेले अरुबाट सहयोग लिएर प्रतिष्ठान बन्छ भन्ने कल्पना गर्न पनि सकिन्छ ।

तर, यसको विकल्प खोज्न पनि दाङवासीको एकता चाहिन्छ । प्रमुख दलहरुले पक्ष र बिपक्षमा जुलुस निकाल्ने अवस्था आउनु बिडम्बना हो, जे गर्ने भए पनि सहमतिमै गर्नुपर्छ । यो अवस्था धेरै दिन रहँदा नागरिक उपचारबाट वञ्चित हुने खतरा रह्यो, यसप्रति हामी गम्भीर नै छौं र छलफल पनि गरिरहेका छौं ।

Facebook Comments