लोपोन्मुख बीउमा शतप्रतिशत अनुदान

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार

सिस्ने अनलाइन

जिल्लाको भूमे गाउँपालिकाले लोपोन्मुख बीउमा शतप्रतिशत अनुदानमा कृषकलाई बीउ वितरण गरिराखेको छ । लोप भएका र लोपोन्मुख रहेको बीउमा शतप्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गरिराखेको हो ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । जसको लागि समग्र कृषि शाखाको लागि एक करोड ६७ लाख ६६ हजार बजेट विनियोजन गरेको छ । लोपोन्मुख तथा स्थानीय बीउलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त बीउमा पालिकाकाले सतप्रतिशत अनुदानको व्यवस्था गरिदिएको गाउँपालिकाका कृषि नायब प्राविधिक सहायक शिखर बिश्वकर्माले बताउनुभयो ।

‘स्थानीय उत्पादन हुने बीउ तोरी, फापर, कोदो लगायतको बीउमा शतप्रतिशत अनुदान प्रदान भइराखेको छ’ उहाँले भन्नुभयो‐‘विगतका वर्षमा आफै तोरी उत्पादन गरेर तेल, फापरबाट रोटी र कोदोबाट कोदोको ढिंडोका स्वस्थकर परिकारको लवाइखुवाइले पुर्खाहरु हस्तपुस्त हुनेगरेका थिए ।’

अहिले यी खेतीपाती गर्नेमा कमी भइराखेको साथै बीउ समेत लोप भइसकेको हुनाले यसलाई संरक्षण र कृषकलाई प्रोत्साहन मिलोसभनि लोपोन्मुख बीउविजनमा शतप्रतिशत अनुदानको व्यवस्था गराइएको पालिकाले जनाएको छ ।

त्यसैगरी ‘एक घर एक करेसाबारी’ नारा अपनाई तरकारीको लागि पनि प्रत्येक चौमासिकमा वडा र पालिकाबाट तरकारीको बीउ समेत स्थानीयले निःशुल्क पाइराखेका छन् । मागमा आधारित औजारउपकरण, साना सिंचाई, मौरी र माछा पालन लगायतका आफूलाई आवश्यक परेको माग गर्नका लागि आवेदन खुल्ला भएकोले कृषकले छिटै कृषि शाखामा कृषकले समयमै माग गर्न शाखाले अनुरोध गरेको छ ।

Facebook Comments