बाँके घटनामा बोल्यो नेकपा– व्यक्तिगत घटनालाई राजनीतिक बनाइयो

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार

सिस्ने अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बाँकेले नेपाली कांग्रेसलगायत कुनै पनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने नीति नरहेको स्पष्ट पारेको छ ।

शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले आफ्ना पार्टी समर्थित केही युवा र कांग्रेसको कार्यक्रममा रहेका अस्लम भाटको विवादलाई ‘राजनीतिकरण’ गर्न नहुने बताउनुभयो ।
‘यो कुनै राजनीतिक घटना नै होइन, केही युवाहरुको व्यक्तिगत घटनालाई पार्टीकरण गर्ने काम भएको छ, पार्टी अध्यक्ष खरेल र सचिव कोइरालाले भन्नुभयो, विगत लामो समयदेखि सहयोग र सहकार्य गर्दै आएको पार्टीका बीचमा यस्ता घटनाले सम्बन्ध टुटाउँछ ।’

नेकपाले कांग्रेसको कार्यक्रमस्थलमा जानुलाई ‘गलत’ भनेको छ । ‘जो त्यहाँ गए उनीहरु कांगे्रसलाई लक्षित गरेर गएका थिएनन, अध्यक्ष खरेलले भन्नुभयो, कांग्रेसले घटनालाई अतिरञ्जित गर्ने काम गरेको छ । दलबलसहित प्रहरीकहाँ गएर धेरैलाई ज्यानमारा मुद्दा लगाएको छ ।’

कार्यक्रमस्थलमा भएको विवादमा अस्लम भाटले २१ मिनेटको भिडियो बनाएका छन् । नेकपाका जिल्ला सचिव कोइरालाका अनुसार, ‘२१ मिनेटको भिडियोमा किरण भाउजुलाई कसैले छोएको छैन । न त त्यहाँ नेकपा जिन्दावाद नै भनिएको छ । खाली अस्लम भाटलाई समातेर प्रहरीलाई बुझाउने कुरा गरिएको छ ।’

घटनाप्रति दुःख व्यक्त गरेको नेकपाले अतिरञ्जित गरेर सहकार्यको मूल्य र मान्यतालाई नजर गर्न आग्रह गरेको छ ।

Facebook Comments