वाह ! बुकी पाटनः जहाँ लुकेका छन् लेखिनसक्नु गोठालाका कथा

प्रकाशित मिति :  २६ श्रावण २०७६, आईतवार

जयमान बुढा मगर

वरिपरि गोठै गोठको छरछिकमेक । चारैतिर हरियाली तथा मडारिएको कुहिरो । गर्मीयाममा पनि मुटु कमाउने चिसो मौसम । चरीको चिरबिर, गोठालाहरुको सुरिलो बाँसुरीको धुन । गाईभैंसी, बाख्रा र घोडाखच्चर चरनमा सराबरी । एउटा छुट्टै समाज, एउटा पृथक संस्कार । मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरुको यायावर जीवनजस्तो लाग्ने फरकपन ।

हजारौं बर्षअघि आदिमकालबाट कृषि समाजमा प्रवेश गरेसँगै मानिसहरु यसरी नै पशुचौपाय घुमाउने गरेको पाइन्छ । तर, कृषिहुँदै विश्व आधुनिक पूँजीवादी युगमा प्रवेश गरिसक्दा पनि यहाँका अधिकांश मानिस पुरानै पेशामा रहेका छन् । मौसमअनुसार गाइबस्तुलाई लेकबेसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यही पुगेर गाइवस्तु चराउँछन् । ७७ औं कान्छो जिल्ला मानिने नयाँ हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन यसरी नै चलिरहेको छ । सयौं बर्षदेखिको यो जीवनशैली अझै कति बर्षसम्म रहन्छ त भन्न सकिदैन तर पनि अहिलेसम्म चलिरहेकै छ ।

पशुचौपायलाई घाँस खुवाउने र खेतीपातीका लागि मल उत्पादन गर्नु गोठालाहरुको उद्देश्य हो । तराइका जिल्लाहरुमा रसायनिक मलले माटो नै काम नलाग्ने भइसकेको छ । यही रसायनिक मल नपाएर कतिपय ठाउँमा खेतीपाती नै लाग्दैन । यति मात्र कहाँ हो र, पछिल्लो समय त बढ्दो बिषादीको प्रयोगले कृषि उत्पादन प्रयोग गर्न पनि डरलाग्दो भइसकेको छ ।

भारतबाट बिषादीयुक्त तरकारी र फललफूल आयातमा रोक लगाउन सरकारले प्रयास गरे पनि सकिरहेको छैन । देशले नचिनेको यो हिमाली जिल्ला रुकुमपूर्वमा भने न रसायनिक मल खोज्ने झन्झट, न बिषादीकै त्रास । बरु, किसान आफैले उत्पादन गरेको प्रारंगारिक मल प्रयोग गरेर बर्षौदेखि उनीहरुले खेतीपाती गरिरहेका छन् । हिमाली क्षेत्र जडीबुटीको खानी मानिन्छ । त्यही जडीबुटीको घाँस खाएका गाइबस्तुको गोबर र पिसाबबाट बन्ने मल नै यहाँको खेतीपातीको आधार हो ।

रुकुमपूर्वका अधिकांश बासिन्दा मौसमी बसोबास गर्दै खेतीपाती गरिन्छ । बर्षात याममा बस्न उनीहरुले लेकमै अस्थायी आवास बनाएका छन्– ‘टुन्ड्रा क्षेत्रका इग्लु’जस्ता । पृथ्वीको उत्तरी ध्रुबमा रहेको टुन्ड्रा क्षेत्रमा बस्ने जनजाति ‘इन्यूट’हरुले हिउँदको बेला बस्नका लागि बनाएका अस्थायी हिउँकै घर ‘इग्लु’ को बारेमा पढ्दै आएका स्कूले विद्यार्थीहरुका लागि यहाँको जीवनशैली पनि साँच्चिकै अध्ययन गर्न लायक छ । यहाँ हिउँले बनाएका इग्लु नभए पनि घरले चिटिक्क पारेर छाएका गोठहरु प्रशस्तै छन्, यसमै गोठाला र गाइवस्तु बस्ने गर्दछन् । पछिल्लो समय घरको अभाव हुन थालेसँगै प्लाष्टिकले गोठ छाउने क्रम भने पढ्न थालेको छ ।

रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर २ का गाबाङ, काँक्री गाउँका लेक सानो रामली र ३ क्याङ्सी, झुम्लाबाङ गाउँका लेक ठूलो रामलीलगायत यो क्षेत्रका प्रायः सबै गाउँलेहरुले आ–आफ्नो पायक पर्ने ठाउँमा लेकाली गोठ बनाएका हुन्छन्, जहाँ सानोतिनो खेतीपाती पनि गरिन्छ । आजभोलि गोठालाहरुले लेक र बुकी पाटनमा छप्पक्कै भरिएका छन् ।

समुन्द्रसतहदेखि अनुमानित २ हजार ४ सय २५ मिटर उचाइमा रहेको सानो रामलीमा भूमे–२ गाबाङ र काँक्री गाउँका गोठालाहरु बसेका छन् । त्यस्तै ठूलो रामलीमा भूमे–३ क्याङ्सी र झुम्लाबाङ गाउँका गोठहरु छन् । गोठाला जतिले आ–आफ्नो लेकमा गोठ पनि बनाएका छन् र थोरै खेतीपाती पनि गर्दछन् । सानो र ठूलो रामली २५ मिनेटका वारपारको दूरीमा रहेका छन् । त्यसो त खेतीपाती भने राम्रो उत्पादन हुँदैन । यहाँ जौं उत्पादन हुने गर्दछ । तर, जौं पाक्न भने एक बर्ष नै कुर्नुपर्छ । गोठालाहरुले भदौको अन्तिमसम्म लेक छाडिसक्छन् ।

पहिले पहिले गोठालाहरुले भदौको अन्तिमतिर लेक छाड्ने बेलामा जौं छरेर जाने र अर्को बर्षको असारमा फर्केपछि काट्ने गरेको स्थानीय ५० बर्षीया जोगबहादुर बुढा सम्झनुहुन्छ । त्यतिबेला जौं प्रजातिको सिङ्मा र गहुँ प्रजातिको जमेर छर्ने गरेको पनि उहाँले सम्झनुभयो । तर, अहिले भने आलु खेत ीगर्न थालिएपछि लेकहरु विस्तारै आलु खेतीले भनि थालेका छन् । ‘त्यस समयमा आलुको नाम निशाना नै थिएन’– विगत सम्झदै बुढाले भन्नुभयो– ‘आलु भित्रिएपछि उक्त लेकमा मात्र उत्पादन हुने सिङ्मा र जमेर विस्थापित भएको हो ।’

अहिले यी लेकमा आलु र मकै लगाउने गरिएको छ भने विस्तारै जीवनशैली पनि परिवर्तन हुँदै गएको छ । पहिला खेतीपाती गरेका जग्गा पनि अहिले बाँझै छन् । युवा पुस्ताले खेतपाती र लेकबेसी गर्न छाडेपछि पुरानो पुस्ताले मात्रै यो पेशा धानेको छ ।

ग्वाला मुखिया

समाज न हो, समाज भए अगुवा चाहियो नै । त्यसै पनि हरेक समाजमा अगुवा तोक्ने र उसकै नेतृत्वमा मिलेर आदिवासी जनजातिहरुको बिशेषता हो । खाम मगरभाषीको बसोबास रहेको यो ठाउँमा गोठालाहरुको पनि आफ्नै मुखिया तोकिएको हुन्छ । गोठालाई स्थानीय भाषामा ग्वाला भनिन्छ । लेकमा गोठ लैजाने हरेक गाउँका बासिन्दाले आ–आफ्नो ग्वाला मुखिया अर्थात प्रमुख तोक्छन् । मुखिया, बैदार तथा तैबिल पद दिइएको हुन्छ । उनीहरुकै नेतृत्वमा बाह्रैमास लागु हुने गरी नीति नियम बनाएर परिचालित हुने गर्दछन् । पदका लागि वर्षैपिच्छे फेरिरहनु पर्दैन । समय सन्दर्भ अनुसार फेरबदल हुने गर्दछन् ।

गाउँमा मुख्य पेशा खेतीपाती रहेको हुनाले खनजोत तथा अन्नबालीका लागि मल आवश्यक पर्ने भएकोले त्यसैअनुसारका गाईभैंसी, भेडाबाख्रा पाल्ने गर्दछन् । धेरै समय बसोबास गर्ने तथा मूल घरबास भएको ठाउँलाई मूल घर तथा लेकको अस्थायी बसोबासलाई गोठ भनिन्छ । अरु बेला जता पुगे पनि चाडपर्वको बेलामा भने गाइवस्तु र भेडाबाख्रासहित सबै मूल घरमै फर्कन्छन् । मूल वस्तीदेखि माथिका ठाउँलाई लेक र तलका ठाउँलाई बेसीका रुपमा चिनिन्छ ।

परापूर्वकदेखि पूर्खाले यसरी नै लेकबेसी गरेर जीवन निर्वाह गर्दै आएकाले आफूहरुले पनि निरन्तरता दिएको भूमे–२ गाबाङका पुरबहादुर बुढा बताउनुहुन्छ । भूतपूर्व ग्वाला मुखिया बुढा भन्नुहुन्छ– ‘पहिले हाम्रो बाल्यकालको समयमा गाउँका सबैको पेशा एउटै भएकोले लेक र बेसीको जग्गा अनिवार्य हुनुपर्दथ्यो तर अहिले पेशा परिवर्तन भइरहेकाले यो चलन पनि कम हुँदै गएको छ । फरक–फरक जीवनशैली हुँदै गएको कारणले लेकबेसी गर्ने चलन कम हुँदैछ भने पशुचौपाय पालनमा पनि कमी आइरहेको छ ।’

ग्वाला मुखियाको नेतृत्वमा चरन बन्द र फुकुवा गर्ने काम गरिन्छ । चरन बन्द भयो भने जंगलमा पशुचौपाय लैजान पाइदैन र घाँसपात पनि काट्न पाइदैन । बन्द गरिएको चरनमा पशु छाडेमा जरिवाना कायम र उठाउने पनि ज्वाला मुखियाले नै गर्छन् । त्यसैगरी पाखा वनमा विरुवा रोप्ने, बाटोघाटो मर्मत तथा नयाँ बाटो खन्ने, पानीका मुहान संरक्षण जस्ता काम ग्वाला समूहबाट हुन्छ र यसको नेतृत्व पनि ग्वाला मुखियाले नै गर्छन् ।

मौसमी बसोबास गर्दै खेतीपाती
चैतदेखि वैशाख र जेठ महिनाको अन्तिमसम्ममा बेसीमा लगाइएको हिउँदे बाली भित्र्याइन्छ र बर्षे बाली लगाइन्छ । बर्खे बालीको रुपमा मकै, आलु र कोदो रोप्ने गरिन्छ भने बर्षात शुरु भएसँगै फलफूल पनि रोकिन्छ । असारदेखि गोठालाहरु गाइवस्तु लिएर लेकतिर लाग्छन् । मौसमी बसोबास गर्दै खेतीपाती गर्न अलिखित र अनौपचारिकरुपमै भए पनि किसानहरुको कार्ययोजना नै हुन्छ । मूल घरजग्गा र बेसीमा बर्खे अन्नबाली लगाइसकेपछि ग्वाला मुखियाले सो ठाउँमा पशुचौपाय चरन बन्द भएको घोषणा गर्छन् । बेसीको चरण बन्द भएसँगै सबै किसानहरु लाम लागेर लेकतिर चढ्छन्, त्यो पनि पशु चौपायाका साथ ।

‘असार महिनाको पहिलो हप्ता लेक जानैपर्ने हुन्छ’– पूर्व ग्वाला मुखिया बुढा कार्यकतालिका सम्झाउनुहन्छ– ‘लेक नगएमा पशुचौपायलाई वनको घाँस खुवाउन पाइदैन, आफ्नो बारीको घाँस भने खुवाउन सकिन्छ र त्यसले मात्र पुग्दैन, सबै किसानहरु लेकतिर लगानी सुखै हुँदैन ।’ असारमा ठूला–ठूला बुकी पाटन तथा साना लेकमा पशुचौपायलाई उकालिन्छ । ठूला लेकमा बुकी पाटनको घाँस खुवाउनका लागि लगिएको हुन्छ । पशुचौपायले जडीबुटीसहितको घाँस प्रयाप्त खान पाउने भएकोले स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने तहकै लेकमा पशुचौपायको चरिचरण हुन्छ ।

यस्तो ठाउँमा हुर्केका गाइभैसीको दूध स्वास्थ्यका दृष्टिले महत्वपूर्ण भए पनि यसको अध्ययन गर्ने र बजारीकरणतर्फ भने चासो जान सकेको छैन । कतिपय ठाउँमा हिमाली क्षेत्रमा चरेका गाइसको गहुँत प्राणघातक क्यान्सरका लागि समेत उपयोग हुने गरेका तथ्य सार्वजनिक भए पनि यहाँको बहुमूल्य जडीबुटी खाएका गाइको गहुँत भने त्यत्तिकै बगेर गइरहेको छ । त्यसो त अन्य ठाउँका तुलनामा यहाँ उत्पादित घीउको मूल्य बढी नै भए पनि यसको परीक्षण गर्ने र औषधिकै रुपमा प्रयोग गर्ने काम भने अझै हुन सकेको छैन ।

त्यसका लागि लागि उपयुक्त परीक्षण र बजारीकरणको खाँचो छ । बुकी पाटन लगिएका पशुचौपायलाई भदौ महिनाको तेस्रो हप्तामा मूल घर ल्याइन्छ । साना लेकमा आलु लगाए पनि बुकी पाटनमा भने खेतीपाती गरिदैन । खेतीपाती गर्ने लेकमा उक्लेका गोठालाहरु भने त्यस ठाउँका लागि आवश्यक पुग्ने मल गरी क्रमशः तलतल झर्दै बन्द गरिएको चरनलाई फुका गर्दै चराउने गर्दछन् । असारदेखि भदौसम्ममा कम्तिमा पनि तीनवटा गोठमा बसाइ सर्दै असोजसम्म मूल घरमा झरिसक्ने गरी ब्यवस्था मिलाइएको हुन्छ ।

बर्खेबाली भदौ महिनाबाट पाक्न शुरु हुन्छ । त्यसपछि लेकबाट झर्दै बाली भित्र्याउन शुरु गरिन्छ । भदौमा बाली पाकेको जग्गामा अन्न भित्र्याएपछि त्यसमा तोरी, फापर लगाइन्छ । असोजमा बेसीको मकै, कोदो पाख्छ भने बन्द गरिएको चरन पनि फुक्का गरिन्छ । त्यसपछि एकैसाथ बेसी झर्दछन् गोठालाहरु । हिउँद समयमा अत्यधिक जाडो हुनुका साथै हिउँ पर्ने भएकोले पशुचौपायलाई मंसिरदेखि चैतको पहिलो हप्तासम्म मूलघरका गोठहरुमा राखिन्छ । हिउँदको समयमा गोठभित्र न्यानो खाना दिने र तातोपानी उमालेर दिने गरिन्छ ।

बर्खाको समय गोठमा जति रमाइलो छ त्यति नै समस्या तथा कष्टकर हुने गरेको जुनकुमार रोकाले सुनाउनुभयो । ‘दूध, मही, लेकाली सागसब्जी, च्याउ र आफूले उत्पादन गरेको विभिन्न फलफूल खाँदै हरियालीमा गोठ बस्दा रमाइलो लाग्ने गर्दछ’– रोकाले भन्नुभयो– ‘त्यति नै जोखिमपूर्ण दिन पार गर्दै बाढीपहिरो, जंगली जनावर, लेकमा पानीको मूल छैनन्, आकाशे पानी जम्मा भएको त्यो पनि पशुचौपायले खाने गरेको पानी नै खानुपर्ने बाध्यता हुन्छ ।’

खेतीपाती गर्ने अनुकूलतामा गोठ सार्दै खेतीपाती गर्ने गरिएको २ नम्बर वडा सदस्य मदनकुमार बुढा मगरले बताउनुभयो । मौसमअनुसार नै लेकबेसीको जग्गा पूर्खाले नै कमाउदै आएकोले त्यसैअनुसार खेतीपाती गरिरहेको वडा सदस्य बुढाले बताउनुभयो ।

(२०७६ साउन २५ गते शनिवारको नयाँ युगबोध दैनिकको सौगातमा प्रकाशित सामग्री)

Facebook Comments