• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केही वर्षभित्र तिब्र आर्थिक बृद्धि भएको देश बनाउछौ : प्रधानमन्त्री




नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष विशेष कार्यक्रम गरी मनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघले आज (मंगलबार) विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा ६२ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम भव्य रूपमा मनाएका हुन् ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी’ मूल नाराका साथ यसवर्ष सरकारी स्तरबाटै राष्ट्रिय तहमा सहकारी दिवस भव्य रूपमा मनाइएको हो । त्यस अवसरमा कार्यक्रमको बारेमा जानकारी दिँदै सहकारी विकास वोर्डका रजिष्टार डा.टोकराज पाण्डेले २०१३ साल चैत्र २० गते चितवनबाट बखान सहकारी संस्था दर्ता भएर सञ्चालनमा आएपछि विधिवत रूपमा सहकारी आन्दोलन नेपालमा शुरू भएको जानकारी दिनुभयो । रजिष्टार पाण्डेले हालसम्म ३५ हजार ५ सय १२ सहकारी संस्थाहरू क्रियाशिल रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएको छ । मंगलबार (आज) ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयो ।

उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउन बताउनुभयो । ‘हामीले केही वर्षभित्रै नेपाल इतिहासमै सबैभन्दा बढी तिब्र आर्थिक वृद्धि भएको देश भनेर विकास गर्छौ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीसँग अहिले प्रविधि छन् त्यो ल्याएर विकास गर्न सक्छौ । यसको बढीभन्दा बढी प्रयोग गरेर आर्थिक विकास गर्छौ।’

सहकारी आन्दोलन सरकारको आफ्नै आन्दोलन भएको भन्दै प्रधानमन्त्री ओलीले सहकारीले समृद्ध नेपाल सुखी नेपालकी लक्ष्य पुरा गर्न सक्नुपर्ने शुभेच्क्षा व्यक्त गर्नुभयो ।

बाँच्न सहज बनाउने लक्ष्यका साथ सहकारी आन्दोलन शुरू भएको भन्दै प्रधानमन्त्रीले अबको सहकारी आन्दोलन समृद्धिका लागि हुने बताउनुभयो । अबको सहकारी उत्पादनमा लागेर समृद्ध बन्नका लागि केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ‘अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि, आधुनिक प्रविधिको प्रयोगका लागि हुनुपर्छ । समृद्धि र सुखका लागि हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सहकारीको माध्यमबाट ठूलो सहकार्यमार्फत कृषिको आवश्यक आधुनिकीकरण गर्नुपर्छ।’

नेपालको समृद्धिको पहिलो शर्त भनेकै कृषिमा आधुनिकीकरण भएको भन्दै उहाँले गरिबीको अन्त्यका निम्ती किसानहरूमा रहेको गरिबीको अन्त्य हुनुपर्ने बताउनुभयो । तर त्यो स्वस्थ तरिकाले हुनुपर्ने उहाँको भनाइ थियो । ‘हामीले कृषिमा आधुनिकरीकरण गर्ने हो तर त्यो स्वस्थ ढंगले गरिनुपर्छ । हामीले व्यापारी देश मात्र होइन स्वस्थ देश पनि बनाउने हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खान पाउने मात्र होइन स्वस्थ, अर्ग्यानिक कुरा खान पाउनुपर्यो । त्यसमा आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने हो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सहकारीसँग जोडेर सामुहिकतामा लैजानु प्रधानमन्त्री ओलीले बताउनुभयो । पैसा हुनेलाई मात्र नभएर पैसा नहुनेलाई समेत सहकारितामा सामेल गराउने अभियान सहकारी भएको भन्दै उहाँले सहकारीले बित्तिय कारोबारमात्र मात्र भन्दा पनि उत्पादनमा बढी जोड दिन आग्रह गर्नुभयो । सहकारीका नाममा एकाध संस्थाले ठगी गरेको भन्दै उहाँले यस्ता कार्यबाट सचेत रहन समेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतले घटाउछौ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिले भएका सहकारी संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएको हो । ‘अब पाँच वर्षमा अहिलेका सहकारीको संख्उ ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ’, उहाँले भन्नुभयो ।

मन्त्रालयले सहकारीको मर्जर अभियान नियमावलीमा उल्लेख गरेर थालनी गरेको भन्दै सहकारीहरू मर्जर नभएमा सञ्चालन हुन नसक्ने बताउनुभयो । सहकारी अब अझ बढी गाउँकेन्द्रित हुनुपर्ने भन्दै उहाँले सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने बताउनुभएको हो ।

अब सहकारीलाई व्यवसायिक बनाउनुपर्ने अभियानमा मन्त्रालय लागेको भन्दै उहाँले सहकारी संस्थाको संख्या धेरै हुँदा गुणस्तरियतामा कमी आएको समेत बताउनुभयो । केही २/४ संस्थाबाट भएको बदामीका कारण सहकारीमाथि प्रश्नचिह्न खडा भएको बताउदै मन्त्री अर्यालले अब सहकारीलाई यस्ता कुराबाट टाढा राखेर समृद्धिको अभियानसँग जोड्नुपर्ने बताउनुभयो । ‘एक सहकारी एक गाउँ भनेर सहकारीलाई समृद्धिको अभियानसँग जोड्नुपर्छ ।’, उहाँले भन्नुभयो ।

मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै उहाँले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताउनुभयो ।

सहकारीलाई उद्योगको लगेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै उहाँले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताउनुभयो ।

सहकारी बजार विकास कार्यक्रमको उद्घाटन
यसैबीच त्यस अवसरमा सहकारी बजार बिकास कार्यक्रमको उद्घाटन गरिएको छ । किसानले उत्पादन गरेको उत्पादित वस्तुले बजार नपाउने र किसानले अत्यन्तै कम मूल्यमा बिक्री गरेको वस्तु उपभोक्ताबीचमा गइपुग्दान अत्यन्तै महङ्गो पर्ने समस्यालाई समाधान गर्नका निम्ती सरकारले सहकारी बजार विकास कार्यक्रमको थालनी गरेको हो ।

६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रमका बारेमा तयार पारिएको भिडियो रिपोर्टको स्विच अन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

किसानहरुले आफूले उत्पादन गरेको तरकारी, फलफूलको बजार नपाएको गुनासो गर्दै आएका छन् । बजार नपाउँदा किसानहरुले तरकारी सडकमा फालेको, तरकारी बारीमा डोजर लगाएकोजस्ता अप्रिय समाचारसमेत सार्वजनिक हुँदै आएका छन् । किसानले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पाउन नसकेपछि मन्त्रालयले किसानको उत्पादनको बजार व्यवस्थापन गर्न लागेको हो।
के हो सहकारी बजार विकास कार्यक्रम ?

मन्त्रालयले पहिलो चरणमा ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र चितवन गरी ६ जिल्लामा सहकारी बजार विकास कार्यक्रम प्रारम्भ गरेको छ । यस कार्यक्रमअन्तर्गत ६ जिल्लाका १८ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने छ । त्यसका लागि ७२ सहकारी संस्थालाई छनोट गरिएको छ ।

सहकारी बजार कार्यक्रम लागू भएपछि किसानहरुको उत्पादनले बजार मात्रै पाउने छैन, उत्पादनको उचित मूल्यसमेत पाउनेछन् । बजार कार्यक्रमका लागि मन्त्रालयले चितवनको शक्तिखोर लगायतका ठाउँमा फलफूल तथा तरकारी सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेका संकलन केन्द्रहरु छिटै सञ्चालनमा आउने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभयो ।

‘किसानहरुले फलफूल र तरकारी उत्पादन गर्छन्। तर, बजार पाउँदैनन्। बजार नपाएकै कारण तरकारी र फलफूल कुहेका, बालीमा डोजर लगाएका दर्दानाक समस्याप्रति हामी सम्वेदनशील छौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारी बजार कार्यक्रम त्यही समस्या समाधानका लागि अगाडि सारेका हौं । अब तरकारी र फलफूलमा गरिएको लगानी डुब्दैन ।’
‘पहिलो चरणमा ६ जिल्लामा कार्यक्रम सुरु गर्दैछौं। तर, हामी यतिमै रोकिँदैनौं । हामीले कार्यक्रमलाई देशका सबै प्रदेशमा पुर्याैउँछौं । किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य पाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्रालयले स्थापना गर्ने संकलन केन्द्रले किसानलाई उचित मूल्य दिनेछन् । यसले कृषि र सहकारी क्षेत्रको ग्राहस्थ उत्पादन मात्रै बढ्दैन, व्यापार घाटा कम गर्न पनि ठूलो सहयोग पुग्छ ।’

मन्त्रालयले सन् २०१८ को फेब्रुअरीदेखि २०२३ को जनवरीसम्म देशैभरि सहकारी बजार कार्यक्रम लागू गर्ने लक्ष्य राखेको छ । पाँच वर्षमा सम्पन्न गरिने कार्यक्रममा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा लगानी गर्नेछन् । यस कार्यक्रमले तरकारी र फलफूलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । ११४०१८०५ अमेरिकी डलरमा देशैभरि कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय तत्काल लागू हुने ६ जिल्लाका १८ स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । त्यसैगरि फलफूल र तरकारी उत्पादनका ७२ पकेट क्षेत्र र ७२ सहकारीसमेत छनोट गरिसकेको छ । यसबीचमा ४५ सहकारी संस्थालाई कार्यक्रम व्यवस्थापन सम्बन्धि तालीमसमेत दिइसकेको मन्त्रालयले जनाएको छ ।

६ जिल्लाका लागि १९ स्थानमा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण हुँदैछन् । १९ मध्ये केही केन्द्रको निर्माण कार्य पूरा भइसकेको छ भने केही निर्माणको चरणमा छन् । ६ जिल्लाको परीक्षण कार्यक्रमपछि नयाँ आर्थिक वर्षभित्रै अन्य जिल्लामा कार्यक्रम बिस्तार गरिनेछ । त्यसका लागि आवश्यक गृहकार्यसमेत भइरहेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

सुरुमा किसानले आफूले उत्पादन गरेको फलफूल र तरकारी सहकारी संस्था हुँदै संकलन केन्द्रमा जम्मा हुनेछ । किसानहरुको उत्पादनको उचित मूल्य दिएर उक्त फलफूल र तरकारी संकलन केन्द्रले उपभोक्ताका लागि बिक्री गर्नेछ । सरकारले किसानलाई दिनुपर्ने मूल्य र उपभोक्ताका लागि बजार मूल्यसमेत तोक्नेछ । संकलन केन्द्रको व्यवस्थापन समझदारी पत्रमा हस्ताक्षर गरेका स्थानीय तहहरुले गर्नेछन् ।

यसअघि किसानले ५ रुपैंया प्रतिकेजीमा बिक्री गरेको तरकारी उपभोक्ताले ५० रुपैंयासम्म तिरेर खरिद गर्ने गर्दथे। अब त्यो बाध्यताको अन्त्य हुनेछ । किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने बजार मूल्यका बीच ठूलो अन्तर रहने छैन । यस कार्यक्रमबाट किसान र उपभोक्ता दुवै उत्तिकै लाभान्वित हुनेछन् । यस कार्यक्रमले कृषि क्षेत्रमा भइरहेको युवा पलायनलाई समेत रोक्ने विश्वास लिइएको छ ।

सहकारीकर्मी, संस्था तथा पत्रकार पुरस्कृत

यसैबीच त्यस अवसरमा सहकारी अभियानलाई विभिन्न क्षेत्रबाट योगदान दिने विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको छ । मन्त्रालयले सहकारी अभियान नेपालमा स्थापना भएदेखि हालसम्म विभिन्न ढंगलाई अभियानलाई योगदान दिएको भन्दै उनीहरूलाई नगद तथा सम्मानपत्रले पुरस्कृत गरेको छ ।

जसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियन्तातर्फ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल, महासंघकै पूर्व अध्यक्ष दिपकप्रसाद बास्कोटा र नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमप्रसाद पाठकलाई नगद एक लाख ५० हजार रूपैयाँसहित पुरस्कृत गरेको हो ।

यसैगरी त्यस अवसरमा सहकारी संस्थातर्फ सातै प्रदेशका एक/एक वटा उत्कृष्ट सहकारीलाई नगद २ लाख रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको छ । जसअनुसार प्रदेश नम्बर १ बाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकरभित्ता झापा, प्रदेश नम्बर २ बाट साना किसान कृषि सहकारी संस्था धनुषा रघुनाथपुर, प्रदेश नम्बर ३ बाट जन सचेतन बचत तथा ऋण सहकारी संस्था लि. दोलखा, गण्डकी प्रदेशबाट जिल्ला दुग्ध उत्पादन सहकारी संघ बाग्लुङ, प्रदेश नम्बर ५ बाट सिको बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया, कर्णाली प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लाटिकोइली सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट नवजीवन सहकारी संस्था लि. कैलाली पुरस्कृत भएका छन् ।

यसैगरी त्यस अवसरमा दुई जना पत्रकारलाई नगद ५० हजार रूपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको छ । त्यस अवसरमा कारोबार दैनिकमा कार्यरत यादव हुमागाई र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार मुना कुवरलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत सबैलाई पुरस्कार बितरण गर्नुभएको हो ।

Facebook Comments