• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनता उराल्ने हापुरेको त्यो साहित्यिक उत्सव




धेरै साहित्यिक कार्यक्रममा जनताको चासो देखिदैन तर पश्चिम दाङको हापुरेमा भने फरक दृश्य देखियो । साहित्यिक कार्यक्रममा गाउँगाउँबाट आएको जनताको उत्साहपूर्ण उपस्थिति रह्यो ।

“बबई साहित्य गोष्ठी–२०७५” अन्तर्गत दाङको हापुरे गत शनिबार साहित्य र संगीतमय बन्यो । जनगायक जीवन शर्मादेखि, वरिष्ठ साहित्यकारहरु नारायणप्रसाद शर्मा, डा.अमर गिरी, डा.कृष्णराज डि.सी., टीकाराम उदाशी, यज्ञ बहादुर डाँगी लगायत दुई दर्जनभन्दा बेसी कवि साहित्यकार र कलाकारहरु उपस्थित भएको सो कार्यक्रममा सांगितीक प्रस्तुती, कविता वाचन देखि साहित्य, कला र संस्कृतिको चर्चा पनि संगसगै गरियो ।

कार्यक्रममा अतिथिको रुपमा मन्तव्य दिनुहुँदै नाराणप्रसाद शर्माले पश्चिम दाङ अब पहिलेको अवस्थामा नरहेको यहाँ प्रसस्त संभावनाहरु पनि विद्यमान रहेको चर्चा गर्दै भौतिक समृद्धिको साथै साहित्य, कला र संस्कृतिको हिसाबले पनि अगाडि बढ्नुपर्ने बताउँनुपभयो । साथै वहाँले अबका दिनहरुमा आफू दरिलो र सफल हुनको लागि स्थानीय निकाय र तिनका जनप्रतिनिधिहरुले साहित्य एवं कलाको संरक्षणको लागि योगदान गर्नुपर्नेमा जोड् दिंदै त्यसतर्फ पहल गरेकोमा बबई गाउँपालिका धन्यवादको पात्र भएको बताउनुभयो ।

त्यसैगरि अर्का अतिथि कवि तथा समालोचक डा.अमर गिरीले कार्यक्रम गुणात्मक हिसाबले अत्यन्त महत्वपूर्ण भएको र समृद्धिको यात्रामा साहित्य र संस्कृतिलाई संगसंगै महत्व दिएर जानुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले साहित्य र साहित्यकारहरुको भूमिका राजनीतिलाई बाटो देखाउने भएकोले साहित्य र संस्कृतिको प्रर्वद्र्धनका लागि आफू सदैव तत्पर रहेको बताउनुभयो । त्यसैगरी उपाध्यक्ष सावित्रा विश्वकर्माले संघर्षमार्फत धेरै कुराहरु प्राप्त भएपनि महिला अधिकारको कोणबाट समाज अँझै धेरै पछि रहेको बताउँदै महिलाहरु साँस्कृतिक रुपमा जागरुक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा “बबई साहित्य गोष्ठी–२०७५” सञ्चालक सामितिको आयोजनामा पहिलो पटक भएको सो कार्यक्रममा जनगायक जीवन शर्माले सहभागीहरुबीच वास्तविक नायक नायिकाहरु हातमा ठेला उठेका श्रमिकहरु भएको बताउँदै आफूले सँधैभरि उनीहरुकै गीत गाउँदै हिडेको कुरा व्यक्त गर्नुभयो । साथै वहाँले आफ्ना जनपक्षीय र जोशिला गीतहरुले स्रोताहरुमा नयाँ चेतना र मनोरञ्जन संगसंदै सञ्चार गर्ने काम गर्नुभयो । त्यसैगरि गायक पूर्ण पुन, सावित्रा विश्वकर्मा, गायिका देवी भण्डारी, राधिका परियार र विमला डाँगीले आफ्ना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कविहरु नाराणप्रसाद शर्मा, अमर गिरी, कृष्णराज डि.सी., यज्ञ बहादुर डाँगी, उत्तमकृष्ण मजगैञा, टीकारा उदासी, खगेश्वर भण्डारी, लेखराज रेग्मी, घनश्याम अस्तित्व, सन्ध्या रेग्मी, शारदा शर्मा, दीपा धिताल, व्योम जि.अवतार, लक्ष्मी न्यौपाने, दीपा के.सी., सदीक्षा शर्मा, मनोहर आचार्यले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालक समितिकी सदस्य दीपा के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष प्रमोद धितालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सह–सचिव शान्त बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments