बाम बुद्धिजीवीहरु भन्छन्– परिवर्तन नभएको साँचो हो, विप्लवको कार्यदिशा पनि काँचो भो

प्रकाशित मिति :  ३० फाल्गुन २०७५, बिहीबार

सिस्ने अनलाइन

केही दिनयता देखिएको राजनीतिक तनावप्रति बाम बुद्धिजीवीहरुले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । उनीहरुले बामपंथी कोणबाट हुनुपर्ने जति परिवर्तन नभएको साँचो भए पनि अहिलेकै आधारमा अर्को सशस्त्र क्रान्ति संभव नभएकाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आफ्नो कार्यदिशामा सुधार गर्न सुझाव दिएका छन् । अहिले शान्तिपूर्ण संघर्षबाटै धेरै अग्रगामी एजेण्डा स्थापित गर्ने अवसर रहेको र त्यो स्पेस नेपाली राजनीतिमा खाली भएकाले त्यसको नेतृत्व लिन पनि उनीहरुले सुझाएका छन् ।

वर्गीय आन्दोलनका लागि शान्तिपूर्ण दबाबको राजनीतिक ठाउँ खाली छ

नयाँ पत्रिकामा लेख लेख्दै बाम बुद्धिजीवी झलक सुवेदी भन्नुहुन्छ– जनयुद्धले जनवादी गणतन्त्र स्थापना नगरेकामा कसैलाई चित्त बुझेन, संरचनागत परिवर्तनलाई सत्तारुढ वर्गको प्रतिरोधले कमजोर बनायो, तत्कालका लागि सामाजिक न्याय हुने गरी अवसर र स्रोतमाथिको अधिकार बाँडफाँट भएन । र, सबैभन्दा ठूलो पक्षचाहि“ सँगै राजनीति गरेका, सँगै लडेका र जीवनको महत्वपूर्ण हिस्सा जनयुद्धको भुमरीमा बिताएका एकथरी खुला जीवनका अनेक अवसर समातेर माथिमाथि पुगे, अर्काथरीले समात्न सकेनन् ।

यी असन्तुष्टिलाई संगठित गर्दा फेरि समाजलाई नयाँ संघर्षमा होम्न सकिन्छ र त्यसबाट एउटा तहको राजनीतिक शक्ति आर्जन गरेपछि आफू शक्तिमा पुग्ने गरी सम्झौतामा पुग्न सकिन्छ भन्ने महत्वाकांक्षा विप्लवमा पलाएपछिको विकास नै अहिलेको विप्लव समूहको आधार हो । सशस्त्र विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्न असम्भव छ भन्ने विषयमा विप्लव पनि हामीजत्तिकै प्रस्ट छन् भन्नेमा ममा द्विविधा छैन ।

अर्को कुरा पनि यसमा ध्यान दिइनु जरुरी छ । जनयुद्ध, ०६२र६३ को जनआन्दोलन र मधेसी, जनजाति र महिला तथा दलितका आन्दोलनका अपेक्षा पूरा भएका छैनन् । वर्गीय समस्या ज्युँकात्युँ छन् । सत्तामा हुने या राज्यमा पहुँच हुनेले सुविधाको जीवन बिताएको र अरू आमसाधारण नागरिकको दैनिक जीवन भने संकटग्रस्त नै रहेको पनि यथार्थ हो । यस्तो वेला असन्तुष्टि आमप्रवृत्ति बन्छ । दैनिक रूपमा आउने प्रतिक्रिया हेर्दा देखिन्छ, असन्तुष्टि सत्तारुढ दलका नेतामा र कार्यकर्ता दुवैमा पनि छ, प्रतिपक्ष त यसै असन्तुष्टि पालेरै हिँड्न अभिशप्त प्रजाति हो ।

किसान असन्तुष्ट छ र पुँजीपति पनि । बेरोजगार त असन्तुष्ट हुने नै भयो, सानोतिनो रोजगारी पाएको पनि असन्तुष्ट छ । बिदेसिएको कामदार पनि असन्तुष्ट छ, यता विदेश जान नपाएको पनि त्यस्तै अवस्थामा छ । कतिपसम्म भने जग्गा दलाल र सेयर बजारका दलाल पनि, बंैकर र ऋणी पनि असन्तुष्ट छन् ।

यी असन्तुष्टिका कतिपय विषय संरचनागत परिवर्तनसँग जोडिएका छन् । यसको हल हुन्छ भन्ने विश्वास सिर्जना गर्ने काम सरकार र मूलधारका राजनीतिक दलको हो । नेतृत्वको हो । यसलाई क्यास गर्ने काम विद्रोह गर्छु भन्नेको हो ।

यी पृष्ठभूमिमा नेपालमा वर्गीय दृष्टिले आमश्रमजीवी वर्गका अधिकार र निम्नमध्यम वर्गका समस्या हल गर्ने गरी राज्य पक्षलाई दबाब निरन्तर दिइरहने राजनीतिक ठाउँ खाली छ । विप्लव समूहले जुन असन्तुष्टिलाई आफ्नो संगठन विस्तारको आधार बनाएको छ, त्यो शान्तिपूर्ण राजनीतिक ‘स्पेस’ उपयोग गरेर शक्ति आर्जनका लागि पर्याप्त छ ।

सशस्त्र विद्रोह र हत्या–हिंसाको जुन बाटो लिन खोजिँदै छ, त्यो अब जनयुद्ध बन्दैन, त्यसको त प्यारोडी मात्र बन्ने हो भन्ने विप्लवले बुझ्नु जरुरी छ । उनका लागि शान्तिपूर्ण राजनीतिमा अवतरण हुने या फिरन्ते विद्रोहीका रूपमा केही वर्ष भौँतारिने भन्ने दुई मात्र विकल्प छन् ।

सशस्त्र संघर्षको वस्तुगत र आत्मगत आधार अहिले छैन


दाङका बामपंथी बुद्धिजीवी सर्जन गौतमले फेसबुक स्टाटमार्फत आफ्नो सुझाव यसरी प्रस्तुत गर्नुभएको छ– अहिले राजतन्त्रको अन्त्य भएको छ र नेकपाको सरकार छ । तर , सामन्ती एवं दलाल नोकरशाही पुँजीवादी उत्पादन सम्बन्ध बदलिएको छ भन्न मिल्दैन । एउटा राजा फाल्दैमा सामन्ती तथा दलाल नोकरशाही वा प्रतिगामी उत्पादन सम्बन्ध उही रहन्छ भने जनताको जीवनमा खुसहाली आउन सक्दैन भन्ने मदन भण्डारीको उक्ति पुष्टि भएको छ । तर, क्रान्ति गर्नका लागि चाहिने बस्तुगत र आत्मगत परिस्थिति अहिले छैन । सशस्त्र संघर्ष को लागि त झन छैन ।

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । द्वन्द्वमा गुमाएर पनि केही नपाएका सर्वसाधारण जनता थकित र निराश छन् । ती द्वन्द्वको बोझ थाम्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा कुनै प्रकारको सशस्त्र युद्धको प्रयास भड्काव मात्र हुनेछ । यदि केही समयको लागि सशस्त्र संघर्ष शरु गरेर संसदीय सत्तामै साझेदारी गर्ने क्यारिरिस्ट रणनीति अपनाइएको हो भने पनि त्यो जनता प्रतिको ठूलो धोका र छलछाम हुनेछ ।

सशस्त्र संघर्षको सफलताको सम्बन्धमा बिपी कोइरालाको यो निष्कर्ष पनि ख्याल गर्नुपर्ने भएको छ । उनी भन्छन्– फ्रान्सेली क्रान्तिको बेला शासक र शोषितको बिचमा हतियारहरु आधारभूतरुपले एकै प्रकारका थिए र सशस्त्र संघर्ष क्रान्तिको निर्णायक बाटो बन्न सक्थ्यो । तर, अहिले शासकहरु अत्याधुनिक हतियार एटोमिक पावरले सुसज्जित छन् । यस्तोमा सशस्त्र संघर्षलाई निर्णायक बाटो बनाउन निकै कठिन र प्रायः असम्भव भएको छ ।

इराकमाथिको अमेरिकी आक्रमण, तालीवानमाथिको आक्रमणमा कमजोर टेक्नोलोजीले प्रतिरोध गर्न कति असम्भव हुँदो रहेछ भन्ने कुरा देखाएको छ । क्रान्तिको लागि परिस्थिति परिपक्व नभएको र भएको अवस्थामा पनि जनआन्दोलन र जनसंघर्षको आधारमा आफ्ना कार्यक्रम अगाडि बढाउनु र जनतामा आफ्ना एजेण्डा स्थापित गर्नु नै सही रणनीति हुन्छ । शान्तिपूर्ण जनसंघर्षको माध्यमबाट जनतामा स्थापित आन्दोलनका माग ढिलोचाँडो सम्बोधन गर्न सत्ता बाध्य त हुन्छ नै । र, यस्तो आन्दोलनलाई कसैले प्रतिबन्ध लगाउन सक्दैन । आन्दोलन र संघर्षको एउटा रुपलाई मात्र शाश्वत ठान्ने दृष्टिबाट मुक्त हुने कि !

Facebook Comments