जनकलाकारका कमाण्डर रञ्जीतः एक स्वप्नधून

प्रकाशित मिति :  १२ फाल्गुन २०७५, आईतवार

केएल पीडित

गाइने हाम्रा गीतहरु रगतले लेखिएका
हिंड्ने हाम्रा बाटाहरु रगतले रंगिएका
रक्तपातपूर्ण युद्ध हो यो …..

सामन्ती राज्यव्यवस्थाको समूल अन्त्य गरेर जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले २०५२ सालदेखि नेकपा माओवादीले संचालन गरेको जनयुद्धको एक कालखण्डमा यो गीत खुबै घन्कियो ।

जनयुद्धमा होमिएका जनयोद्धा र मुक्तिकामी जनतामा यो गीतले बर्बर राज्य आतंक विरुद्ध ठिंग उभिने अदम्य साहस र उत्प्रेरणा जागृत गथ्र्यो । रगतमा मुठ्ठी चोपलेर र आँखामा मृक्तिको मृदु सपना र संकल्प साँचेर त्यो बर्बर सत्ताको चिहान खन्न उद्यत लालसिपाहीहरुलाई यो गीत बरोबर गुनगुनाउँथे र वर्गबैरीका छातीहरुमा पड्कन्थे ।

यो गीतका स्रष्टा हुन् रंजीत बुढा । नेपाली जनवादी गीतसंगीतलाई काँध दिने पछिल्लो पुस्ताका एक जुझारु, इमान्दार र सक्रिय साँस्कृतिक योद्धा हुन् उनी । नेकपा माओवादीले २०५७ साल असोज ८ गते डोल्पाको दुनै कब्जा गरेपछि रंजितले दाङको भित्री सक्राममा यो गीत सिर्जना गरेका हुन् । आफ्नै शब्द संगीतमा उनले यो गीत लामो समयसम्म गाउँदै हिडे ।

वि.सं. २०३७ साल पौष १६ गते बुवा पूर्णबहादुर बुढामगर र आमा केशरी बुढामगरको कोखबाट रोल्पाको सुनछहरी ५ मावाङमा जन्मेका रंजीत एक वहुप्रतिभाशाली जनकलाकार हुन् । उनी लेखक, गायक, संगीतकार, अभिनेता र नृत्य निर्देशक हुन् ।

उनले ३ दर्जन बढी गीत रचना गरेका छन् भने १ दर्जन बढी गीतमा संगीत भरेका छन् । २०६५ सालमा प्रकाशित गीति एल्बम सुनौलो बिहानीमा संग्रहित ७ वटा गीतमध्ये उनले पाँचवटामा आँफै स्वर दिएका छन् । जनयुद्धको विषयवस्तुमा २०६५ सालमा रंजीतले जनकलाकार प्रगति महरासंगको सहकार्य र बासु आचार्यको निर्देशनमा वर्गप्रेम चलचित्र ंं(डकुड्रामा) निर्माण गरेका थिए । यो चलचित्रको शीर्ष भूमिकामा उनले नै अभिनय गरेका थिए ।

विद्यार्थीकालदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहेका रंजीत २०४८ सालको असारमा रोल्पाको मा.वि गजुलबाट लुटपाटको झूठो मुद्दामा पक्राउ परे र ३ महिना हिरासतमा बसे । गाउँमा राज्य आतंक बढ्दै थियो । उनी बुवाको आग्रहमा भारत पसे ।

२०५१ सालतिर नेपाल फर्किए र दाङ घोराहीका काष्ठ व्यवसायी केवल खत्रीको उद्योगमा मजदुरी गरेर पुनः अध्ययन शुरु गरे । उनी एक सचेत, जागरुक र विद्रोही स्रष्टा थिए । उत्पीडनकारी राज्यव्यवस्थाको अन्त्य र न्यायपूर्ण समाज व्यवस्थाको स्थापनाको सपना उनको जीवनको ध्येय थियो । २०५२ सालबाट शुरु भएको जनयुद्धमा उनले साँस्कृति सिपाहीको भूमिका निर्वाह गर्ने संकल्प गरे । २०५४ सालमा ध्वनि साँस्कृतिक परिवारको नेतृत्व गरेर उनी जनक्रान्तिमा होमिए ।

जनक्रान्ति उच्चतामा जाँदै थियो । लाखौं उत्पीडित जनसमुदायहरु जनक्रान्तिमा समाहित भइरहेका थिए । उता राज्य झन्झन् बर्बर हुँदै थियो । हत्या र दमनका श्रृंखलाहरु बढिरहेका थिए ।

२०५५ साल मंसीर २७ गतेको दिन रंजीतको लागि निकै पीडादायी रह्यो । गाउँमा (रोल्पा) मारुनी नाचिरहेका बेला उनको बुवा पूर्णबहादुर र बहिनी ज्वाईं ओमप्रकाश पुनलाई प्रहरीले गिरफतार ग¥यो र नाराबाङको जंगलमा घाँटी रेटेर हत्या ग¥यो । यो बर्बर हत्याको खबरले केही पीडानुभूति गराए पनि रंजीत कत्तिपनि विचलित भएनन् ।

‘समय निकै दमनकारी थियो । को कहाँ कतिखेर ढालिन्छ, रेटिन्छ भन्ने केही निश्चित थिएन । हामीहरु जस्तोसुकै बलिदानका लागि पनि तयार थियौं । बुवाको मृत्युले केही पीडा भएपनि मैले यसलाई एक आवश्यक बलिदान ठानें र क्रान्तिका लागि आफूलाई थप उर्जा प्रदान गरेको महुशुस गरे ।’ साँस्कृतिक योद्धा रंजीतले वलिदानको त्यो क्षणलाई संझदै भने ।

२०५७ मंसिरमा रक्तबीज साँस्कृति परिवारको अध्यक्षको रुपमा उनले साँस्कृतिक मोर्चाबाट जनक्रान्तिमा योगदान दिन थाले । त्यो बेला उनीसंग ७ जना (प्रगति, अम्बा, लक्ष्मी, ध्रुब, संघर्ष र बिक्रम) जनकलाकारको दस्ता थियो । मादल, बाँसुरी, खैंजडी, हार्मोनियम र गिटार बोकेर उनीहरुले रोल्पाका पाखापखेरादेखि दाङको नाकाहरुमा मुक्तिका भाकाहरु गुञ्जाउँदै हिंडे, जनता ब्यूँझाउँदै हिंडे ।

कहिले हुस्सुले छोपिएका तितेका झाडीहरु त कहिले पहेंलपुर तोरीका बारीहरु छिचोल्दै, कहिले औंसीका काला रातहरुमा साँघुरा खोल्साहरु त कहिले पुसको ठिहीमा चिसा घाटहरु तर्दै जनकलाकार रंजीतले आफ्नो साँस्कृतिक पल्टनलाई निरन्तर जनक्रान्तिमा अघि बढाइरहे, बढाइरहे ।

पार्टीले ढाडमा टेकेर टाउकोमा हान्ने अभियान शुरु गरेपछि रंजीत भेरी कर्णाली क्षेत्रमा पुगे । २०६१ मा उनको जिम्मेवारी गण्डक प्रदेशमा प¥यो । उनी तनहुँको बन्दीपुर एरियाको पार्टी इञ्चार्ज तोकिए ।

पार्टी जिम्मेवारी निर्वाह गरिरहेकै बेला २०६२ साल जेठ ५ गते रातको १२ बजे उनी आफ्ना २ जना सहयात्रीसहित तत्कालीन शाही सेनाको घेराउमा परे । अर्कोदिन बिहान ८ बजे उनीहरुले शाही सेनाले कब्जामा लियो र मुकुण्डो लगाइदिएर मस्र्याङदी ब्यारेकमा पु¥यायो ।

‘मस्र्याङदी ब्यारेकमा हामीहरुलाई ३ महिना राखियो र चरम यातना दिइयो ।’ विगत स्मरण गर्दै भावुक शैलीमा रंजीत बोले ‘ राति हामीलाई घाँटीसम्मको पानीमा डुबाइन्थ्यो र दिउँसो भिजाएको जुटको बोरामा बाँधेर घाममा सुकाइन्थ्यो ।’ यातना खपिनसक्नु थियो । संत्रास भयानक थियो ।

जीवनको मोह सकिएको थियो । तर आँखामा सजाएको आदर्श र सपनाको अघि सबकुरा गौण थिए । यातनाले कानको जाली फुट्यो, सिंगो जीउ थिलथिलो भयो । तर रंजीत आफ्नो आदर्श र सपनाबाट कदापि च्यूत भएनन्, एकरौं डगमगाएनन् ।

तीन महिनापछि सैनिक ब्यारेकबाट रंजीतको टिमलाई दमौली पुलिस हिरासतमा ३५ दिन राखियो । त्यस पश्चात् उनीहरुलाई कास्की पोखराको पार्दी जेल चलान गरियो । २०६२÷०६३ को जनआन्दोलन सफल भएपछि २०६३ जेठ १७ गते रंजीत जेलमुक्त भए । त्यसको १ महिनापछि अर्थात् २०६३ असार १७ गते उनले जनकलाकार प्रगति महरासंग जनवादी विवाह गरे ।

माओवादी शान्तिप्रकृयामा आएपछि २०६४ मा रंजीत काठमाडौं पुगे र गणतान्त्रिक मंचको राप्ती भेरी कर्णालीको इञ्चार्ज बने । २०६५ मा उनले यसै मंच अन्तर्गत मगरात प्रदेशको इञ्चार्जको जिम्मेवारी पाए । पछिल्लो समय दाङलाई कर्मक्षेत्र बनाएर सामाजिक/साँस्कृतिक अभियानहरुमा सक्रिय छन् ।

जनसाँस्कृति महासंघ, दाङको अध्यक्ष र सहिद परिवार समाज दाङको सचिव रहेका रंजीत विगतको संघर्ष र बलिदानलाई गौरवपूर्ण कालखण्डको रुपमा व्यक्त गर्दछन् । ‘ती दिनहरु निकै गौरवपूर्ण थिए । जनक्रान्तिमा आफूले पनि केही योगदान दिन पाएकोमा म आफूलाई निकै भाग्यशाली ठान्छु ।’ यसपालि भने निकै रोमाञ्चित बने रंजीत ।

जनताका दुःख, वेदना र सपनालाई आफ्नो गीतसंगीतको मूल कथ्य बनाएका रंजीत स्वंय एक मुक्ति गीत हुन्, जनताका मन मष्तिस्कहरुमा युगौं गुञ्जिरहने एक रातो स्वप्नधून हुन् ।

(नयाँ युगबोध दैनिकको २०७५ फागुन ११ गतेको शनिवारीय सौगातबाट)

Facebook Comments