• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कार्यकर्तालाई प्रभाकरको अपिल– समाजवादी कार्यदिशा बन्दैछ, लागु गर्न तयार हुनुस्




नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको भ्रुण तयार गर्न एक नेता एक गाउँको अवधारणा अघि सार्नुपर्ने बताउनुभएको छ ।

पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा तयार पारिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले उच्चस्तरमा छलफल गरिरहेको र अब समाजवादको भ्रुण तयार पार्न अध्यक्ष प्रचण्डदेखि जिल्लास्तरसम्मका नेतालाई ‘एक नेता एक गाउँ’को जिम्मा दिनुपर्ने बताउनुभयो ।

हिजो हरेक नेतालाई प्रत्येक गाउँ र टोलको जिम्मा दिएर जनयुद्ध सफल पारेको स्मरण गर्दै उहाँले अब पनि हरेक नेतालाई एउटा गाउँ नमूना बनाउने जिम्मा दिनुपर्ने बताउनुभयो ।

‘अरु नेता त गाउँमा जाछौं नै अध्यक्ष प्रचण्डसमेतले सिंगो देशको राजनीतिक नेतृत्वसँगै निश्चित गाउँको आर्थिक र सामाजिक क्षेत्रको नेतृत्व गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘यसरी सबै नेताहरुले निश्चित केही बर्ष निश्चित ठाउँको समाजवादी मोडेल तयार पारेपछि त्यसको राष्ट्रिय समीक्षा र संश्लेषणसहित देशब्यापीरुपमा हामी समाजवाद कार्यान्वायनको चरणमा पुग्नेछौं, कम्तीमा त्यहाँसम्म पुग्न निश्चित आर्थिक उत्पादन र सामाजिक न्यायको अभ्यास गरेकै हुनुपर्छ, त्यसबाट आउने सकारात्मक र नकारात्मक शिक्षाको समीक्षासहित हामी देशब्यापी समाजवादी कार्यक्रम घोषणा गरेर अघि बढ्न सक्छौं ।’

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको स्कूलिङ तथा प्रचार विभागले गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले समाजवादको विकास दुइ चरणमा गर्नुपर्ने धारणा पनि राख्नुभयो । प्रारम्भिक प्रकारको समाजवादको अभ्यास गर्दै उच्च समाजवादमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले केहीले आर्थिक उत्पादन उच्चस्तरमा पुगेपछि मात्रै समाजवादमा जान सकिने त केहीले अहिले नै समाजवाद घोषणा गरेर जानुपर्ने तर्क राख्ने गरेको भन्दै नेता शर्माले यी दुबै बिधिबाट समाजवादमा पुग्न असंभव रहेको बताउनुभयो । आर्थिक र सामाजिक जग तयार पार्दै प्रारम्भिक समाजवादको अभ्यास गर्दै उच्च समाजवादको अभ्यासमा पुग्नुपर्ने उहाँको धारणा छ ।

‘अहिले केही साथीहरुले उठाउने गरेजस्तो समाजवादको स्थापना जनमत संग्रहबाट हुने होइन’– उहाँले भन्नुभयो– ‘समाजवाद राजनीतिकरुपमा घोषणा गरेर भइहाल्ने संघीयता, गणतन्त्र, लोकतन्त्र भनेजस्तो कुनै राजनीतिक ब्यवस्था मात्र होइन, यो समाज र समाजको उत्पादन प्रणालीसँग जोडिएको अर्थ सामाजिक ब्यवस्था हो, त्यसैले सामूहिक उत्पादन बृद्धि र सामाजिक न्याय स्थापना गरेर मात्रै समाजवाद स्थापना गर्न सकिने छ ।’

अहिले पूजीवाद संकटग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले समाजवादको बस्तुगत आधार तयार भएको बताउनुभयो । ‘हामी कम्युनिष्टहरुले मात्रै होइन संसारभरिका पूँजीवादीहरुले समेत पूँजीवाद असफल भएको स्वीकार गरिसकेका छन्’– उहाँले भन्नुभयो– ‘अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकारले यो परम्परागत पूँजीवाद असफल भएको भन्दै प्रगतिशील पूँजीवादमा जानुपर्ने बताउन थालेका छन्, यसले पूँजीवाद संकटग्रस्त अवस्थामा पुगेको पुष्टि हुन्छ ।’

समाजवादको बस्तुगत आधार तयार भए पनि समाजवादको अगुवाइ गर्ने कम्युनिष्टहरुको आत्मगत आधारमा केही समस्या रहेको उहाँले स्वीकार गर्नुभयो । ‘समाजवादमा पुग्न हामीले बिभिन्न बाटा अपनाएकै छौं, न्यूनतम कम्युनिष्ट जनमतलाई एकीकृत गर्दै समाजवादी क्रान्तिमा जानकै लागि पार्टी एकता गरेका थियौं तर त्यहाँ पनि समस्या देखियो’– नेता शर्माले थप्नुभयो– ‘अहिले पनि नेपालका मौजुदा कम्युनिष्ट पार्टीमध्ये नेकपा माओवादी केन्द्र नै यस्तो पार्टी हो, जसले सही कार्यदिशा बनाएर गएको खण्डमा देशलाई एकमतका साथ जुरुक्क उठाउनसक्छ ।’

त्यसका लागि पार्टी कार्यदिशा निर्माणको चरणमा जुटेकाले सबैलाई सुझाव दिन र समाजवादी क्रान्तिका लागि तयारी अवस्थामा रहन पनि उहाँले आग्रह गर्नुभयो । ‘म फेरि पनि दोहोर्याउँछु समाजवादका लागि नेता कार्यकर्ता जनताबीच गएर मात्र पुग्दैन, आफै उत्पादन संघर्षमा जोडिएर अघि बढ्नुपर्छ’– उहाँले भन्नुभयो– ‘अब गाउँमा पुगेर संगठन मात्रै बनाएर हुँदैन र त्यस्ता संगठनमा जनताको विश्वास हुँदा पनि हुँदैन । अब उत्पादनसहितका संगठन, जनताको जीवन जोडिएका संगठन बनाउने गरी हजारौ हजार नेता कार्यकर्ता उत्पादन गर्न तयार भएर बस्नूस् । अब जो उत्पादन सम्बन्धसँग जोडएर अघि बढ्न सक्छ, त्यही नेता हुनेछ ।’

जनयुद्धपछि पार्टीले ठोस कार्यदिशा तय गर्न नसक्दा अहिलेको अलमल आएको पनि उहाँले स्वीकार गर्नुभयो ।

‘हामीले संविधान बनाएपछि समृद्धिहुँदै समाजवादमा जान्छौं त भन्यो तर स्पष्ट कार्यदिशा दिन सकेनौं’– उहाँले भन्नुभयो– ‘जसले गर्दा केही नेता कार्यकर्ता पार्टी र आन्दोलनबाटै बाहिरिने अवस्था आयो भने रहेकाहरु पनि पार्टी र क्रान्तिभन्दा निजी व्यक्तिगत जीवन निर्वाहतर्फ लाग्ने स्थिति बन्यो । यसको कारण समयमै स्पष्ट कार्यदिशा नआउनु हो, अब हामी चाँडै केन्द्रीय समिति बैठबाट स्पष्ट कार्यदिशा तय गरेर अघि बढ्ने छौं, पार्टी जीवनभित्रको लामो अलमल पनि अब सकिनेछ ।’

समाजवाद अर्थ सामाजिक ब्यवस्थासँगै संस्कृति पनि भएकाले यसमा छलछाम, गुटबन्दी र निजी स्वार्थ होइन सामूहिक समर्पण भाव प्रधान हुने भएकाले त्यसका लागि तयार हुन पनि सबै कार्यकर्तालाई नेता शर्माले अपिल गर्नुभयो ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज शर्माले समाजवादी अभ्यासको अगुवाई कर्णालीले गर्ने बताउनुभयो । ‘हिजो जनयुद्धको थालनी गरेको ठाउँबाटै समाजवादी आन्दोलनको अभ्यास शुरु हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका लागि हामीले केही नर्सरी बनाएर थोरैथोरै विरुवा तयार पारेका छौं, यसपटक कर्णाली सरकारले बजेट र कार्यक्रममार्फत त्यसलाई थोरै भए पनि प्रदेशब्यापी बनाउँदैछ, यसबाट पनि नयाँ संभावनाको खोजी गर्न सजिलो हुनेछ ।’

यो पनि पढ्नुहोस्

स्थायी समितिमा प्रभाकरको प्रस्ताव– ‘एक केन्द्रीय सदस्य, एक समाजवादी गाउँ’को कार्यक्रम बनाऔं (प्रस्तावको पूर्ण पाठसहित)

Facebook Comments