• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कटुवाखोलाको मुहान क्षेत्र आसपासमा उत्खनन् गरिएको भन्दै स्थानीयको बिरोध




घोराही उपमहानगरपालिका वडा नम्बर १८ को कुटवलाखोलामा नदीजन्य पदार्थ उत्खनन् गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

अम्बापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मुहान क्षेत्रभन्दा पाँच सय मिटर तल र माथि उत्खनन् नगर्न स्थानीयले लगातार माग गर्दै आएको भए पनि घोराही उपमहानगरपालिकाले राजश्वको नाममा उत्खनन् अनुमति दिएको भन्दै बिरोध शुरु भएको हो ।

‘हामीले विगतदेखि जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी, जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आएका छौं’– खानेपानी समितिका सचिव ध्रुव पौडेलले भन्नुभयो– ‘खानेपानी मुहान क्षेत्र सुरक्षित गर्न शंखेपिपलदेखि मुहान क्षेत्रहुँदै त्यसको पाँच सय मिटर माथिसम्म पनि उत्खनन् गर्न समितिले माग गर्दै आएको छ ।’

गत बर्ष खानेपानी उपभोक्ताहरुको वृहत भेलाले नै यो क्षेत्रमा उत्खनन् नगर्न माग गरेको थियो । त्यसपछि उत्खनन् रोकिए पनि अहिले फेरि उत्खनन् शुरु भएको छ । घोराही उपमहानगरपालिकाले सहिदगेटदेखि जिल्ला प्रशासनसम्मको सडक कालोपत्रे गर्नका लागि आवश्यक परेको भन्दै जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि उत्खनन् अनुमित दिएको जनाएको छ ।

सो अनुमतिलाई आधार बनाएर वेष्टर्न डेभ्लभमेन्ट बाजुराले उत्खनन् गरिरहेको छ । साढे दुई सय घनमिटर उत्खनन् गर्ने अनुमित रहेको निर्माण कम्पनीले जनाएको छ ।

घोराही १८ का अध्यक्ष भरत अर्यालले अम्बिकेश्वरी मन्दिरको पश्चिम गेटदेखि शंखेपिपलसम्म वातावरणीय परीक्षण मूल्यांकन गरिराखेकाले नगरपालिकाको कालोपत्रे कामका लागि निर्माण कम्पनीलाई निश्चित समय दिएर उत्खनन् गर्ने अनुमति दिएको बताउनुभयो । स्थानीयको आवाजलाई सम्बोधन गर्ने र आगामी दिनमा छलफल गरेर जाने पनि उहाँले बताउनुभयो ।

स्थानीयबासीले भने केही हजार राजश्वका लागि खानेपानीको मुहान क्षेत्र रहेको स्थानलाई असर पार्ने गरी उत्खनन् नगर्न आग्रह गरेका छन् । यो क्षेत्रको आसपासमा मानव वस्ती, पुल र खानेपानीका मुहान क्षेत्र पनि धेरै भएकाले पर्यावरणीय संवेदनशीलतालाई ख्याल गरेर आगामी दिनमा उत्खनन् निषेध क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेका छन् ।

Facebook Comments