• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः बा भएको दिन




बा भएको दिन
एउटा नवजात हाँसो काँध लिएसंगै
बाको हाँसोको मृत्यु हुन्छ !
त्यसपछि कहिल्यै हाँस्दैनन् बा
मात्र सन्तानहरु हाँस्छन् !
र, हाँस्दै हाँस्दै
गजबले फक्रन्छन्/फुल्छन् सन्तानहरु
तर असमयमै चाउरिन्छन् बा !
कति सकस हुन्छ
नहाँसेर जुनी काट्न
त्यो बालाई मात्र थाहा हुन्छ !
……………….

बा भएको दिन
एउटा सपना काँध लिएसंगै
बाको सबै सपनाहरुको मृत्यु हुन्छ !
त्यसपछि कहिलै सपना देख्दैनन् बा
सपनाका हकदार अब सन्तानहरु मात्र हुन् !
बुनेर सप्तरंगी सपनाका इन्द्रेणीहरु
धर्ती आकाश चहार्दै
पल पल बुर्कुशी मार्दै
लहलहाउँछन् सन्तानहरु !
तर रित्तो औ शुष्क जिन्दगी घिसार्दै घिसार्दै
बा पल पल मुर्झाउँछन्
कति भारी हुन्छ
सपना बिनाको जिन्दगी
त्यो बालाई मात्र था हुन्छ !
……………….

बा भएको दिन
एउटा नवजात जिन्दगी काँध लिएसंगै
बाको जिन्दगीको मृत्यु हुन्छ
त्यसपछि कहिल्यै चलमलाउँदैनन् बा
मात्र चलमलाउँछन् नवजात सन्तानहरु
चरीहरुको मुक्त उडानजस्तै
फूलहरुको मुग्ध सुवासजस्तै
रहरका विराट क्यानभासभरि
नवजात सन्तानहरु निष्फिक्री
रङ्ग्याउँछन् सुकोमल जिन्दगीहरु
तर बा
सधैं रंगहीन बनेर
सधैं गतिहीन बनेर
रुढ शालिकझैं खडा हुन्छन्
जहाँको तहीँ जुनीभर
कति निर्थक हुन्छ
जिन्दगी बिनाको जुनी
त्यो त बालाई मात्र थाहा हुन्छ !
……….
खासमा बा भएको दिन
बाको नै मृत्यु हुन्छ !
त्यसपछि बा एउटा काँध मात्र हुन्छन् !!

(२०७७ भाद्र ३ कुशेऔंसी
समय: दिउँसो ३ बजे !
घोराही, दाङ !)

Facebook Comments